कर्णाली जोड्ने सबै सडक अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली जोड्ने सबै सडक अवरुद्ध


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरुद्ध भएका छन्।

जिल्ला जोड्ने मुख्य सडकहरूमा नेपालगन्ज(सुर्खेत जोड्ने रत्न राजमार्ग, साविकको कर्णालीका जिल्ला जोड्ने कर्णाली राजमार्ग, छिन्चु-जाजरकोट-डोल्पा सडक खण्ड, सुर्खेत–दैलेख सडक खण्ड निरन्तरको वर्षाका कारण आएको पहिरोले अवरुद्ध भएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोट-डोल्पा, दाङ-सल्यान लोकमार्ग पहिरोका कारण अवरुद्ध बनेका छन्।

दैलेख-सुर्खेत सडकखण्डको जिरो पोइन्ट नजिक पहिरो गएपछि यातायात ठप्प रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै छिन्चु-जाजरकोट खण्डमा कम्तिमा तीन ठाउँमा पहिरो खसेको छ।

नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्गमा खसेका पहिरो पन्छाउने काम जारी रहेको र यातायातका साधन चलाउन मिल्ने बनेको प्रहरीले जनाएको छ।

राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको पैंसठ्ठीमा र बबई-छिन्चु खण्डको हर्रेमा पहिरो झरेको छ।

त्यस्तै वर्षाका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो भाग डुबानमा परेको छ। उक्त क्षेत्रमा प्रशासनको टोलीले उद्धार कार्य गरिरहेको छ।

यस्तै भेरी नदीको पानीको सतह खतराको नजिक पुगेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस