एमाले-जसपा सहमति नजिक, २५ सिट मागेका उपेन्द्रलाई फकाउँदै एमाले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले-जसपा सहमति नजिक, २५ सिट मागेका उपेन्द्रलाई फकाउँदै एमाले


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) मंसिर ४ गतेको संसदीय निर्वाचनमा तालमेल गरी अघि बढ्न सहमतिनजिक पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आजै अन्तिमपटक छलफल गरेपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरूले पुष्टि गरेका छन् ।

एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादव स्वयम्को सक्रियतामा संवाद अघि बढेको हो । ओलीलाई एमाले उपमहासचिव विष्णु रिमाल र सचिव रघुवीर महासेठले सहयोग गरिरहेका छन् ।

नेता भट्टराईले दुई दलबीचको सहमतिलाई अन्तिम रूप दिने प्रयास भइरहेको उनले बताए ।

एमाले स्रोतका अनुसार उपेन्द्र यादवले मधेस प्रदेशमा संघीय संसद्का ३२ मध्ये १६ सिट माग गरेका छन् भने प्रदेशसभाका ६४ मध्ये कम्तीमा ३२ सिट आफूले पाउनुपर्ने प्रस्ताव ओलीसमक्ष गरेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सिट गरी कम्तीमा चार सिट आफ्ना लागि दिनुपर्ने प्रस्ताव एमालेसमक्ष गरेका छन् ।

प्रदेश नम्बर १ का सुनसरीमा दुई सिट, मोरङमा एक सिट पाउनुपर्ने उपेन्द्रको माग छ । काठमाडौँको क्षेत्र नम्बर ७ मा जसपालाई एमालेले सघाउनुपर्ने जसपाको दाबी छ ।

जसपाले एमालेसँग मधेसमा १६, लुम्बिनीमा ४, प्रदेश १ मा ४ र काठमाडौंमा राजेन्द्र श्रेष्ठका लागि १ गरी २५ सिट मागिरहेको छ । एमालेले घटाउने प्रयास गरिरहेको छ ।

जसपा अध्यक्ष यादवलाई काँग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले संघीय संसद्मा जम्मा १६ सिट मात्र दिनसक्ने बताएपछि गठबन्धन बैठक छाडेर हिँडेका थिए । त्यसपछि एमाले अध्यक्षसँग छलफल थालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस