झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।

केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाइ भएको भन्दै उनीहरूले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरूले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुङ्ग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालमेलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् । कतिपय नेताहरुले आयोगका पदाधिकारी र मुख्य कर्मचारीलाई फोन गरेर ४र५ दिन मनोनयनको मिति सार्न आग्रह गरेको बताइएको छ । 

झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाइ भएको उनीहरूको तर्क छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले निर्वाचन कार्यतालिका फेरबदल सम्भव नहुने बताउँछन् । 

एक निर्वाचन आयुक्तका अनुसार, अहिले देशव्यापी रूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू घरमा दसैँ समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् । दसैँ बिदामा बसेकाहरू समेत बिहीबार र शुक्रबारभरीमा कार्यक्षेत्र पुग्नेछन् ।

आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस