नवलपरासीको ​विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नवलपरासीको ​विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए। 

अहिले पनि डुबान क्षेत्रका मानिसहरू आफ्नै घरमा रहेका र उनीहरूलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ  ।

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुई सय हेक्टर धान बालीसमेत पूर्ण रूपमा क्षति भएको जनाइएको छ । उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रूपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । बिहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए ।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका-२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्य विन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरू डुबानमा परेका छन् । डुबानमा परेकाहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस