सामागाउँमा हिमपातभएपछि जोखिमलाई ख्याल गर्दै तयारी अवस्थामा हेलिकप्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामागाउँमा हिमपातभएपछि जोखिमलाई ख्याल गर्दै तयारी अवस्थामा हेलिकप्टर


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ ।  उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । 

असोज महिनाको तेस्रो हप्ता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्न सक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए।

सामागाउँमा कैलाश, सिम्रिक र एभरेस्ट एअरका एक-एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।

गोरखा प्रहरीका अनुसार हिजो बुधवारसम्म तीन सय ६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस