बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ। उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं.१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।

हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गरिएको बताए ।

मृतकका आफन्तहरूले कलेजले उपचारमा लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।

अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरीले बताएको छ । 

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताए ।

देवकोटाका अनुसार बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२:१५ बजे आइसियुमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो ।

बिरामी बचाउने कलेजको अथक प्रयास, बिरामीमा भएको संक्रमणको अवस्था, उपचारको प्रोटोकल जस्ता विषयलाई बुझ्नेसम्म प्रयास नगरी लापरबाही गरेको भनेर गरिएको तोडफोडले आफूहरूलाई दुःखी बनाएको बताए ।

वडा दसैँको अवसरमा सबै जना आआफ्नो परिवारसँग बसेर पर्व मनाइरहेका बेला आफ्नो घर परिवार छाडेर जनताको उपचारमा दिनरात खट्ने स्वास्थ्यकर्मी र अस्पतालमाथि भएको आक्रमण र दुर्व्यवहारले काम गर्न असहज अवस्था उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।

उनले घटनाको छानबिन गर्न सरकारका निकायलाई अनुरोध गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस