लोसपा-एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोसपा-एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।

आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । 

लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन  गरेको थियो । सो वार्ता समितिले एमालेका नेताहरूसँग तीन दिनसम्म छलफल गरे पनि एमालेले तर चुनावी गठबन्धनका लागि खासै चासो नदिएको लोसपा नेताहरूको भनाइ छ ।

मुख्य मुख्य क्षेत्र छाड्न नसक्ने, सिट पनि थोरै दिने देखिएको कारण लोसपा एमालेसँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको बताइन्छ । मधेसमा जति नेताहरू प्रवेश गरेका छन् ती सबैलाई व्यवस्थापन गर्न पनि एमालेले कुनै दलसँग गठबन्धन गर्न न चाहेको देखिन्छ । गठबन्धन गर्‍यो भने सिट बाँडफाँट हुन्छ र पार्टीमा टिकटकै लोभमा आएका धेरैजसो नेताहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने देखिए पछि एमाले पनि पछि हटेको देखिन्छ ।

यता, पाँच दलीय गठबन्धन छाड्ने सङ्केत गरेको जसपा आज फाइनल कुराकानीमा जुटेको छ । मधेस प्रदेशमा सिट सङ्ख्या नबढाए जसपा गठबन्धन छाडेर निस्कन सक्छ । 

पाँच दलीय गठबन्धन छाडेपछि विचार मिल्ने जुनसुकै दलसँग गठबन्धन हुनसक्ने बताउँदै उनले सकभर पाँच दलीय गठबन्धन छाड्न नपरोस् भन्ने प्रयासमा जसपा रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस