मुख्यमन्त्री भट्टले प्रदेशसभामा दाबी गरेपछि डोटी माओवादीमा बढ्यो विवाद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री भट्टले प्रदेशसभामा दाबी गरेपछि डोटी माओवादीमा बढ्यो विवाद


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाको प्रत्यक्षमा दाबी गरेपछि माओवादी केन्द्रभित्र विवाद चुलिएको छ ।

मुख्यमन्त्री भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेशसभामै लड्ने माग गरेपछि पार्टीभित्र विवाद चर्किएको हो ।

माओवादी केन्द्र डोटीले भट्टको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र प्रतिनिधि सभाकै समानुपातिकका लागि सिफारिस गरेको थियो ।

तर उनले पार्टीको निर्णय विपरीत आफ्नो माग प्रत्यक्षमा प्रदेश मागेपछि डोटीका बहुमत कार्यकर्ता रुष्ट भएका छन् । 

प्रदेश कमिटीको बहुमत पनि मुख्यमन्त्रीको विरुद्धमा रहेको एक पदाधिकारीले बताए । भट्टले टिकट पाए माओवादीकै केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना छ ।

उनले भट्टले टिकट पाए पाटीभित्र विद्रोह हुने चेतावनीसमेत दिएका छन् ।

भट्टले प्रदेशसभा ख मा दाबी गरेका हुन् । माओवादीले भने सो क्षेत्रबाट शिव सिंह ओली, मीनबहादुर घर्ती र प्रेम कुँवरको नाम सिफारिस गरेको थियो ।

नेताहरूका अनुसार डोटीका बहुमत जिल्ला कमिटी भट्टको विरुद्धमा छ । पाँचवर्षसम्म सुदूरपश्चिम सरकारको नेतृत्व गरेका भट्टको कार्यकालको आलोचना पार्टीभित्रै व्यापक छ ।

प्रदेश पार्टीले भट्टलाई असक्षम मुख्यमन्त्री भन्दै उनको कार्यकालमा जनताको कुनै काम नभएको लिखित निर्णय नै गरेको थियो ।

यसबाहेक पार्टीकै नेताहरुले उनलाई आर्थिक अनियमितता गरेको आरोप समेत लगाउँदै आएका छन् ।

डोटीकै एक नेताले भने,“स्थानीय निर्वाचनमा आफ्नो पालिका जिताउन नसक्ने मुख्यमन्त्रीले पार्टी निर्णय विपरीत प्रदेशसभामा दाबी गर्न मिल्दैन । यसले पार्टीभित्रै विद्रोह हुन्छ । गठबन्धनकै समीकरणमा समस्या आउन सक्छ । ५ वर्ष मुख्यमन्त्री भएर उहाँले सम्झनलायक एक काम पनि गर्नुभएन । विवाद र अनियमिततामा जोडिनुभयो । कारबाही गर्नुपर्नेलाई टिकट दिएपछि निर्वाचनमा ठुलो क्षति हुन्छ ।”

सुदूरपश्चिम धेरैजसो नेतासँग मुख्यमन्त्री भट्टको बोलचालसम्म छैन । केही समयअघि उनले आफू निकटका नेता–कार्यकर्तासँग सुदूरपश्चिममा माओवादी छ र ? भन्दै प्रश्न समेत गरेका थिए ।

डोटीमा प्रतिनिधि सभाको प्रत्यक्षमा एकीकृत समाजवादीका नेता प्रेम आले उम्मेदवार बन्ने सम्भावना छ । प्रदेशसभामा दुई सिटमा माओवादी र काँग्रेस एक-एक सिटमा लड्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस