काउन्टरमा टिकट अभाव देखाउँदै बाहिर बार्गेनिङमा रिजर्भ बस सञ्चालन, यात्रु मार्कामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काउन्टरमा टिकट अभाव देखाउँदै बाहिर बार्गेनिङमा रिजर्भ बस सञ्चालन, यात्रु मार्कामा


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । दसैँमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुली बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ ।

मध्यपुर थिमि कौशलटार बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौँ–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ तोकेको छ । ‘काउन्टरमा टिकट अभाव देखाउँछन्, बाहिर बार्गेनिङमा व्यवसायीले रिजर्भ बस सञ्चालन गरिरहेका छन्,’ उनले भनिन्, ‘चाडपर्वको मौकामा यात्रुलाई खुल्लमखुला ठगी भइरहेको छ ।’

कैलाली धनगढीका शंकर तिमिल्सेनाको गुनासो पनि उस्तै छ । दसैँका लागि घर फर्किन उनी शुक्रबार कलंकीस्थित टिकट काउन्टर पुगे । शंखमूल बस्ने तिमिल्सेनाले टिकट सकिसकेको जवाफ पाए । ‘रिजर्भमा जाने भए मिलाइदिउँला भन्छन्,’ उनले भने, ‘टिकट काउन्टरबाटै बार्गेनिङ चलेको छ, झन्डै दोब्बर भाडा तिरेर घर जाँदै छु ।’ तिमिल्सेनाले धनगढीका लागि प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ तिर्ने गरी आइतबारका लागि सिट रिजर्भ गरेका छन् । सरकारले काठमाडौं धनगढीका लागि १ हजार ९ सय ६२ रुपैयाँ मात्र भाडा तोकेको छ ।

यी दुई घटना त उदाहरण मात्र हुन् । दसैँमा घर फर्किन खोज्ने यात्रुहरूले दिनैपिच्छे टिकट काउन्टर धाउँदा पनि टिकट पाउनै नसकेको गुनासो छ । टिकट पाए पनि बढी भाडा तिर्नुपरेको बताएका छन् । बस व्यवसायीहरूले टिकट अभाव देखाउँदै दोब्बर भाडा लिएर रिजर्भमा यात्रुलाई ओसार्ने गरेका हुन् । यातायात व्यवस्था विभागले दसैंलाई लक्ष्य गरेर यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । यही मौका छोपेर व्यवसायीले यात्रुलाई मर्कामा पारेको गुनासो छ । चाडपर्वकै बेला यात्रुहरू मर्कामा पर्दासमेत सरोकारवाला निकाय भने मौन देखिन्छन् ।

यातायात व्यवसायी भने यात्रु सहायताकै लागि रुट परमिट खुला गरेको र यात्रुले रिजर्भमा सवारीसाधन छनोट गर्न सक्ने जनाएका छन् । ‘क्युको सार्वजनिक यातायात सीमित भएकै कारण दसैं लक्षित रुट परमिट खुला गरिएको छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यात्रुले आफ्नो रोजाइअनुसार नै गाडी रिजर्भ गरेर घर फर्किरहनुभएको छ ।’

सरकारले तोकेकै मूल्यमा टिकट उपलब्ध गराउँदै आएको सिटौलाको दाबी छ । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरूबाट टिकट नलिन उनको सुझाव छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । बिहीबार ७१ हजार ७ सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार नाघेको कार्यालयका सहप्रवक्ता एसपी अवदेश विष्टले बताए । शनिबार त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाडेका छन् । रिजर्भमा जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएको एसपी विष्टले बताए । ट्राफिक प्रहरीका अनुसार असोज १० (सोमबार) मा ८ हजार सात सय २९ वटा सवारीसाधनमा ४५ हजार ८ सय २३ यात्रु काठमाडौँ उपत्यका भित्रिएका थिए भने ८ हजार ९ सय ४ सवारीसाधनमा ६० हजार ८ सय ४१ यात्रु उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार ८ हजार ४ सय २७ सवारीसाधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकोमा ९ हजार एक सय ६१ सवारीसाधनबाट ६२ हजार ४ सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

यस्तै, बुधबार ९ हजार ९ सवारीसाधनबाट ४५ हजार २ सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारीसाधनबाट ७१ हजार ७ सय ६३ यात्रु बाहिरिएको एसपी विष्टले जानकारी दिए । बिहीबार ८ हजार २३ सवारीसाधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २ सय १९ सवारीसाधनमार्फत ७४ हजार ३ सय ६२ यात्रु बाहिरिए । शुक्रबार भने ७ हजार ४ सय ६० सवारीमार्फत ३७ हजार ३ सय ४० यात्रु भित्रिँदा १० हजार २ सय ६७ सवारीसाधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले निजी र रिजर्भको सवारी संख्याको भने तथ्यांक राखेको छैन । सार्वजनिक भन्दा दोब्बरको संख्यामा रिजर्भ तथा निजी सवारीसाधनमा यात्रु घर फर्किएको ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

नाकामा विशेष जाँच
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्ष्य गरी काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी रोक्न र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न विशेष जाँच गर्न लागेको जनाएको छ । उपत्यकाका मुख्य नाका थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा जाँच हुने एसपी विष्टले जानकारी दिए ।

यस्तै, उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मादक पदार्थ सेवन ९मापसे० जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी र छतमा यात्रु तथा मालसामान राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।

चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिंगल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने र लागूपदार्थ सेवन जाँच गर्ने एसपी विष्टले बताए ।

यात्रुको गुनासोका आधारमा ट्राफिक प्रहरीले ६१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो, जसअन्तर्गत दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस