मतदाता शिक्षाः न त निर्वाचन आयोगले सक्रियता बढायो न त नागरिक समाजले अग्रसरता देखायो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मतदाता शिक्षाः न त निर्वाचन आयोगले सक्रियता बढायो न त नागरिक समाजले अग्रसरता देखायो


१६ आश्विन २०७९, आइतबार


सार संक्षेप

जनताको शासन स्थापित गर्ने एक मात्र माध्यम निर्वाचन हो । निर्वाचन मतदाताका लागि मतदाताले नै रुचाएको प्रतिनिधि छनोट गर्ने आधुनिक पद्धति हो।सरकारले विगत ५ वर्षमा गरेको कामको मूल्याङ्कन गर्ने आधार हो।लोकतन्त्रको आधारभूत मूल्य र मान्यता हो।राज्य सञ्चालनको नेतृत्व तहमा सबै जनता सहभागी हुन असम्भव प्राय हुने प्रतिनिधि मार्फत शासन सञ्चालन गरिने शासकीय व्यवस्थामा मतदाता नै राज्य सञ्चालनमा सार्वभौम हुन् । यसलाई प्रतिनिधिमूलक लोकतन्त्र भनिन्छ। लोकतन्त्रमा खराब प्रतिनिधि इन्कार “रिजेक्ट” गर्ने, असल आफ्ना प्रतिनिधिलाई आफ्नो अभिमत दिई शासन सञ्चालन गर्न मुकरर गर्ने, उनीहरूका कामको अनुगमन, मूल्याङ्कन  र नियन्त्रण गर्ने र अख्तियारी मुताबिक काम नगरे बिचैमा  “रिकल” फिर्ता बोलाई अर्को प्रतिनिधि छनौट गर्ने सम्मको अधिकार राख्ने हुँदा मतदाता नै शासन सञ्चालनका सार्वभौम हुन र शक्ति सम्पन्न छन् । निर्वाचनले यसै विषयलाई आवधिक रुपमा जाच्ने काम गर्दछ।

मतदाता शिक्षा

 सार्वभौम  मतदाताहरुलाई निर्वाचनका सन्दर्भमा विद्यमान संविधानले व्यवस्था गरेका समावेशीकरणका व्यवस्थाहरू, निर्वाचन प्रणाली र तिनका प्रकारहरू,राजनीतिक दलहरू,मतदाताका अधिकार र कर्तव्य, मत हाल्ने तरीका,निर्वाचन प्रचार प्रसार,आचारसंहिताका विषयवस्तु र पालना र यसमा मतदाताको भूमिका लगायतका  विविध विषयबस्तुहरुका बारेमा सचेत गराउनु, जानकारी दिनु, उत्साहित तुल्याउन र निर्वाचनका हरेका चरणहरू र प्रक्रियाहरूमा सक्रिय सहभागिता गराउन सञ्चालन गरिने शिक्षा मतदाता शिक्षा हो ता कि मतदाताले स्वतन्त्रता पूर्वक आफ्ना प्रतिनिधि छान्न सकुन् ।

विद्यमानको मतदाता शिक्षा चुनाव शिक्षामा मात्रै सीमित देखिएकोले शासकीय व्यवस्थामा आएको व्यापक परिवर्तन सँगै विद्यमानको मतदाता शिक्षा  आज नागरिक शिक्षाका वृहत् खाकामा रूपान्तरण हुनुपर्ने आवाज सामाजिक, सामुदायिक एवं नागरिक स्तरमा उठ्दै आएको छ । एउटा मतदाताले अबको गणतान्त्रिक शासनमा मतपत्रमा छाप कसरी हाल्ने भन्ने मात्रै जानेर पुग्दैन संविधानका अन्तर्वस्तु जस्तै मौलिक हक,नागरिक अधिकार र कर्तव्य, निर्वाचन प्रणाली,असल शासन,विकास र संवृद्धि राजनीतिक संस्कार र मूल्य र सदाचार समेत जान्नु जरुरी भइसकेको छ । जुन कुराको सम्पूर्णतः जानकारी वृहत् नागरिक शिक्षाका माध्यम बाट मात्रै सम्भव छ ।

नागरिक शिक्षाका बिषयबस्तुलाई चरणबद्ध रूपमा आम नागरिक समक्ष लाने प्रमुख जिम्मेवारी सरकार, निर्वाचन सञ्चालन गर्ने निकाय, ओभर साइट एजेन्सीहरू, नागरिक समाज एवं सामुदायिक सङ्गठनको रहन्छ । नागरिक शिक्षालाई वृहत् रूपमा समुदाय एवं परिवार सम्म लैजाने लामो र निरन्तर प्रयास आवश्यक पर्दछ । प्रजातान्त्रिक मुलुकहरूको लोकतान्त्रिक अभ्यासलाई हेर्दा नागरिक शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्न चरणहरू उपयोग गर्ने गरेको देखिन्छ ।

 मतदाता दर्ता सूचना

  देशको कानुन अनुसार तोकिएको उमेर पुगेका मतदान गर्न योग्य हुँदै गरेका सम्भावित वयस्कहरूलाई  लक्षित गरी मतदाता दर्तामा आकर्षित गर्न सूचना जारी गर्ने काम निर्वाचन आयोगको हो। यसमा मतदाता दर्ता प्रक्रियाका विविध पक्षहरूबारे आधिकारिक सूचना र जानकारी दिने शिक्षामूलक  कार्यक्रम बालिग मताधिकार र मतदाता सूचना हो । यस्तो कार्यक्रम खास गरी सबैजसो देशहरूमा निर्वाचन सञ्चालन एवं व्यवस्थापन गर्ने निकायले निरन्तररुपमा सञ्चालन गर्ने गर्दछन् । यसमा चुनौती पनि छ राजनीतिक दलले आ आफ्ना पकेट क्षेत्रका मतदातालाई सूचित गर्ने गर्छन्।त्यसैले स्वतन्त्र निर्वाचन निकाय आवश्यक भएको हो ।

निर्वाचन शिक्षा

निर्वाचन शिक्षा मतदाता शिक्षा भन्दा व्यापक रूपमा र मतदाता सहित मतदाता हुन योग्य हुँदै गरेका,दर्ता छुट भएका समूहलाई समेत समेटेर सञ्चालन गरिन्छ जसमा निर्वाचन र लोकतन्त्र, मतदाताका हक, अधिकार र कर्तव्यबारे पैरवी गरिन्छ। यसमा स्कुल स्तरका बालबालिका एवं मतदाता र मतदाता सूचिमा सूचीकृत हुन नसकेका वर्ग एवं समुदायका नागरिकलाई समेत समेटेर सञ्चालन गरिन्छ । यस्ता कार्यक्रम सबै नागरिकलाई र सदैभरि निरन्तर रूपमा सञ्चालन गरिन्छ ।

नागरिक शिक्षा

नागरिक शिक्षाको दायरा व्यापक छ। मतदाता सूचना, मतदाता शिक्षा र निर्वाचन शिक्षाका विषयवस्तुहरू लगायत राज्यको संविधान, नागरिक अधिकार, कर्तव्य र दायित्व, सामाजिक एवं राजनीतिक मूल्य, निर्वाचन र लोकतन्त्र, समावेशीकरण, प्रतिनिधित्वको सिद्धान्त र समानुपातिक प्रतिनिधित्व, लैङ्गिकता, सूचनाको हक, राष्ट्रिय हित, एकता र अखण्डता जस्ता नागरिक सरोकारका विषयहरू समेटी व्यापक रूपमा सञ्चालन गरिन्छ । नागरिक शिक्षाको ध्येय शासनमा नागरिकको नियन्त्रण हो।कतिपय देशहरूमा औपचारिक ढाँचाका रूपमा स्कुल एवं विश्वविद्यालयका तहगत पाठ्यक्रममै राखी अनिवार्य पठन पाठन गराउने गरेको पाइन्छ ।

हाम्रो सन्दर्भमा मतदाता शिक्षा

नेपालमा राल्फावादी आन्दोलन मार्फत गाउँ गाउँमा प्रजातान्त्रिक भावना झल्किने गीत, सङ्गीत र कविता वाचन गरी नागरिक सचेतना फैलाउने  गरेको देखिन्छ। गुरुकुल, धार्मिक क्षेत्र र सामाजिक एवं सांस्कृतिक क्षेत्र नै नागरिक शिक्षाको मूल केन्द्र थिए। शिक्षा प्रणालीको विकास सँगै सामाजिक शिक्षा र नैतिक शिक्षाका विषयलाई पाठ्यक्रममा राखी नागरिक अधिकार र कर्तव्य ,अनुशासन, राष्ट्रभक्ति बारे अध्यापन गराइएको पाइन्छ।

वि.स’२०१५सालको संसदीय निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतपत्रको संरचना,भोट हाल्ने तरीका बारे निर्वाचन आयोगले सर्वसाधारणलाई सुसूचित गर्न सुरुवात गरेको थियो।२०४६ पछिका निर्वाचनहरूमा राजनीतिक दलहरूले मतपत्र ,भोट हाल्ने तरीका मतदातालाई सिकाएका थिए ।

संविधानसभा निर्वाचन २०६४ र २०७० मा औपचारिक रूपमै निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । मतदाताहरूको भाषिक, रुचि एवं उमेर र क्षेत्र पहिचान गरी सत्र भाषामा मतदाता सूचना सामाग्री निमार्ण गरी प्रकाशन र प्रसारण गरी स्यमसेवक मार्फत गाउँ गाउँमा पु¥याउन सकेका कारण बदर मत प्रतिशत न्यून भएको ।

आम बुझाइमा निर्वाचन आयोग लगायत नागरिक समाज, गैर सरकारी संस्थाहरूले सञ्चालन गर्ने  कार्यक्रमलाई निर्वाचन सूचना÷मतदाता शिक्षाका रूपमा लिने गरेको पाइन्छ । घोषणा भैसकेका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रयोग हुने  मतपत्रहरूमा  मतदाता अलमलिन पुगी मत बदर  हुन सक्ने तर्फ सचेत भई यस पटकको मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले मात्रै सम्भव देखिँदैन ।यसमा सामुदायिक सङ्घ संस्था,नागरिक समाज,गैसस तथा सञ्चार माध्यमले सक्रियता बढाउनु आवश्यक देखिन्छ । मतदानलाई मात्रै केन्द्रित गरेर हेर्ने हो भने नमुना मतदानमा ज्यादा फोकस गर्नु पर्ने देखिन्छ ।

यस्ता विषयवस्तु निर्वाचन शिक्षाका मात्र नभै शासकीय शिक्षाको वृहत् खाकाभित्रका अन्तर वस्तु हुन। आसन्न निर्वाचनमा निर्वाचन व्यवस्थापनका यावत सवाल उठिरहेका वेला राजनीतिक दल तथा उम्मेदवार,वढदो निर्वाचन खर्च, सरकारहरुले निर्वाचन क्षेत्र विकासका नाममा छुट्टाइने बजेट र निर्वाचन आयोगको निर्देशन, निर्वाचन प्रणाली, नव लोकतान्त्रिक अभ्यास जस्ता विषयबारे आम नागरिकमा सञ्चार गर्नु गराउनु नागरिक कर्तव्य भित्र पर्दछ।त्यसैले यहाँ नागरिक शिक्षालाई सहयोग पुर्‍याउनु उद्देश्यले विषयवस्तु उजागर गरिएको छ ।

मतदाता विना निर्वाचनको परिकल्पना गर्न सकिँदैन।मतदाता निर्वाचनका साधन र साध्य दुवै हुन।लोकतन्त्रका पहरेदार हुन।स्वतन्त्र निष्पक्ष, एवं विश्वसनीय आवधिक निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत गर्ने दायित्व निर्वाचन आयोगमा रहने हुँदा अब आयोगले मतदातालाई  निर्वाचनको समयमा मतपत्रमा छाप लगाउन सिकाउने कुरामा मात्र सीमित नरही आम नागरिकलाई विगतको हाम्रो राजनीतिक इतिहास, प्रजातन्त्र प्राप्तिको संर्घष, जनताको बलिदानी, राजनीतिक दल सम्बन्धी कानुनका व्यवस्थाहरू, दलका काम कर्तव्य,दलले गर्न हुने र नहुने कार्य ,आचारसंहिताका विषय,दलहरूका घोषणापत्र, प्रतिबद्धता र तिनको मूल्याङ्कन, विगत र वर्तमानका संविधान,सङ्घीयता र स्वशासन÷ स्यत्तशासन, लोकतान्त्रिक मूल्य र मान्यता,पोलिटिकल भ्यालुज, आवधिक निर्वाचनको महत्त्व, समानुपातिक प्रतिनिधित्वको कानुनी व्यवस्था र विगतका निर्वाचनका लैङ्गिक सन्तुलन, निर्वाचन प्रणालीका प्रकारले प्रतिनिधि छनौटमा पार्ने प्रभाव,  मतदाताका हक अधिकार, कर्तव्य र दायित्व, त्यस्तै नागरिक अधिकार कर्तव्य र दायित्व, प्रतिनिधिहरूलाई सत्तामा पठाउने या रिजेक्ट गर्ने र आवश्यक परे बिचैमा फर्काउने लोकतन्त्रमा विकसित अभ्यासहरू(जनअस्त्र) , कानुनको शासन,मानव अधिकार,सार्वभौम मताधिकार, राष्ट्रिय एकता र अखण्डता जस्ता यावत विषयलाई समेटी वृहत् नागरिक शिक्षा सञ्चालन गर्नु आवश्यक छ ।

आजको सन्दर्भमा ठुलो खर्च र तामझामका साथ गरिने चुनावले मात्र लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न सक्दैन।आज मतदातामा उपयुक्त उम्मेदवार छनौट गर्न सक्ने क्षमताको विकास गराउनु, मत स्वतन्त्रताका विकल्पहरू र निर्वाचनमा सक्रिय सहभागी गराउनु नागरिक शिक्षाको चुनौती वनेको छ।निर्वाचन व्यवस्थापन कानुन, दल सम्बन्धी कनुन् वारे सवयमः उमेदवार पनि सुसूचित नभएको देखियो।कि चुनावमा सुको पैसा खर्च नगरेका उम्मेदवारलाई निर्वाचन आयोगले लाखौँ जरिवाना गरेको छ।त्यसैले निर्वाचन आयोगले वृहत्  नागरिक शिक्षाका कार्यक्रम भित्र माथि उल्लेख गरिएका सबै विषयवस्तु समेटी तयार गरिएको वृहत् नागरिक शिक्षा परिवार तहसम्म पुर्‍याउने सञ्जाल निर्माण गरी परिचालन गर्नु आवश्यक छ। ढिला नगरौँ ।

लेखक: निर्वाचन, लोकतन्त्र र महिला र मानव अधिकारका पक्षमा कलम चलाउँछिन् ।यी उनका निजी विचार हुन्

प्रतिक्रिया दिनुहोस