मेयरले हटाए करारका कर्मचारी, उपमेयरले गरिन् म्याद थपेको निर्णय  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेयरले हटाए करारका कर्मचारी, उपमेयरले गरिन् म्याद थपेको निर्णय 


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाइएको विषयमा सुरु भएको विवाद बढ्दै गएको छ।

अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये जनगुनासो बढेको भन्दै ९ जना करारका कर्मचारीको म्याद गत असारबाट नथप्ने नगर प्रमुख महेन्द्र महतोको एकल निर्णयको उपप्रमुखसहित नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यपालिका सदस्यले विरोध गर्दै आएका छन्।

सो विवादका कारण नगरपालिका कार्यपालिकाको बैठकले सार्थकता नपाएको नगर प्रमुख महतोले बताए।

कार्यपालिका बैठक नहुँदा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा सञ्चालनसमेत हुन नसकेको उनको दाबी छ। 

नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा एमालेका १०, काँग्रेसका ५ र एकीकृत समाजवादीका ६ जना छन्। कार्यपालिका सदस्य जोगी महतोका अनुसार उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक राखी हटाइएका कर्मचारीको फेरि म्याद थप गर्ने निर्णय गरिएपछि विवाद थप बढेको छ। विकासका लागि नभई बहुमतको आडमा उपमेयर पक्षले एकलौटी गर्न खोजेपछि विवाद बढेको उनको भनाइ छ।

उनका अनुसार यही विवादका कारण गत भदौ १० गतेयता कार्यपालिका बैठकबाट केही निर्णय हुन सकेको छैन। बहुमतको दम्भ देखाएर एमाले र एकीकृत समाजवादी पार्टीले विकास निर्माणको काममा अवरोध गर्न खोजेको नगर प्रमुख महतोको आरोप छ। तर बैठक बस्ने वातावरण नभएकाले आफूहरूले अवरोध गरेको उपप्रमुख बुढाथोकीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस