नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागढुंगामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नागढुंगाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने प्रहरीले जनाएको छ । अवस्था ठिक भएपनि ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १४ वटा सवारी साधनलाई प्रहरीले जरिवाना गरेको छ ।

त्यस्तै, दसैँको अवसरमा गाउँ फर्किनेहरूसँग टिकट कालोबजारी गर्न खोज्ने ११ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेका छन् । सरकारले तोकेको भन्दा धेरै भाडामा मागेको फेला परेपछि उनीहरूलाई बल्खुबाट पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार जगातीमा चालकले लागू पदार्थ सेवन गरेको वा नगरेकोबारे परीक्षण गरेको छ । मापसे परीक्षण गर्दा सबै चालकको रिपोर्ट नेगेटिभ आएको थियो । यान्त्रिक परीक्षण, टिकट कालोबजारी नियन्त्रण र लागू पदार्थ सेवन परीक्षणलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्रताका साथ अघि बढाएको छ ।

बुधवार मात्रै तोकिए भन्दा धेरै भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले कोटेश्वर र नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस