आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबिच सम्झौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबिच सम्झौता


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान-प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

काठमाडौँमा जारी आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीका अवसरमा बुधबार यस्तो सम्झौता भएको हो ।

विभागका अनुसार व्यापारिक गतिविधि एवम् आयात–निर्यात लगायत सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईबिच सम्झौता भएको हो ।

उता, राजस्व चुहावट नियन्त्रणमा सूचना आदान प्रदान गर्ने र अनुसन्धानको प्रभावकारिता बढाउने लगायतका विषयमा आन्तरिक राजस्व विभागले राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीबिच सम्झौता भएको हो ।

व्यवस्थापन गोष्ठीका अवसरमा विभागले मातहतका कार्यगत लक्ष्य हासिल गरेको प्रगतिमा अग्रता कायम गरेका तीन कार्यालयलाई पुरस्कृत गरेको छ । प्रथम भएको आन्तरिक राजस्व कार्यालय इटहरी, दोस्रो भएको कार्यालय आन्तरिक राजस्व भरतपुर र तेस्रो स्थानमा रहेको आन्तरिक राजस्व कार्यालय दाङलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् ।

विभाग र मातहतका कार्यालयले आव २०७८/७९ मा सम्पादन गरेका कार्यको वार्षिक समीक्षा गर्दै चालु आव २०७९/८० को रणनीति र कार्य योजना तय गर्ने उद्देश्यले काठमाडौँमा गोष्ठी जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस