सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । आगामी निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडबाफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटबारे थप छलफल भइरहेको छ ।

यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन–कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।

कार्यदलले दिएको निचोडका आधारमा मंगलबार शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि बालुवाटारमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए । ‘बैठक सुरू भएको एक घन्टा भयो, आज दिनभर छलफल गरेर भएपनि सहमतिमा पुग्ने भनिएको छ,’ उनले भने ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस