पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकन्या झरना’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकन्या झरना’


११ आश्विन २०७९, मंगलबार


बनेपा । ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ ।

पनौती–मल्पी-रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो ।

घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाए । ‘हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन’, उनले भने, ‘बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जङ्गलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।’ धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उनले बताए ।

धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन परिस्थिति खेप्नुपरेको बताए ।

‘पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो’, उनले भने,’सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।’ पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् ।

कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिए ‘ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ’, उनले भने ।

विशेषगरी कोरोना सङ्क्रमणका समयमा टा-टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो ।

पनौती– १२ का वडा सदस्य दीपक तामाङले झरना क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिए । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष रु एक लाख बजेट व्यवस्थापन गरिसकेको उनको भनाइ छ ।’अब दशैँ–तिहारलगत्तै सो योजना अगाडि बढ्छ’, उनले भने, ‘खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि रु पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस