मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ ।

हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् ।

मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको पनि उनले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौँबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको उनले बताइन् ।

त्यस्तै पर्यटन विभागका निर्देशक युवराज खतिवडा हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताए ।

त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् । पुर्जाको समूहले यस पटक मनास्लुबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएको छ ।

यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ ।

विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ । शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस