गोरखा दरबारको दसैँ घरमा बिधिपूर्वक जमरा राखियो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गोरखा दरबारको दसैँ घरमा बिधिपूर्वक जमरा राखियो


१० आश्विन २०७९, सोमबार


गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसैँ घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादसैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ ।

प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए ।

मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताए । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस