नीति अनुसन्धान प्रतिष्ठानले भ्रम निर्मूल पार्नुपर्छ : डा. वाग्ले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नीति अनुसन्धान प्रतिष्ठानले भ्रम निर्मूल पार्नुपर्छ : डा. वाग्ले


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले स्थानीय तथ्याङ्कलाई विश्वव्यापीकरण गर्ने र विश्वको तथ्याङ्कलाई स्थानीयकरण गर्ने कार्यमा नीति अनुसन्धान प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानको चौथो वाषिर्क उत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले सो कुरा बताएका हुन् ।

सार्वजनिक सूचनाहरू ढिलो गरी जनतामा पुग्दा जनताले बुझ्ने बेलासम्म ढिलो भइ सक्ने हुनाले प्रतिष्ठानले चुस्तदुरुस्त रूपमा सूचनाहरू सम्प्रेषण गर्नुपर्ने पनि बताए ।

मिथ्या र भ्रम निर्मूल पार्न अनुसन्धान संस्थाले काम गर्नुपर्ने उनले बताए । थिंक ट्यांकको भूमिका विधायिकी कार्यमा लाग्ने खर्च, नीति निर्माण कार्यमा लाग्ने खर्च र कामै नगर्दा लाग्ने खर्चको बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यमा हुनुपर्नेमा पनि उनले जोड दिए ।

अमेरिकामा रहेको कंग्रेसनल बजेट अफिस ९सीबीओ०भन्ने सरकारी थिंक ट्याङ्कले भनेको कुरा त्यहाँको संसद्ले सबै मान्ने गरेको उदाहरण उनले दिए । तर श्रीलङ्कामा सक्रिय थिंक ट्याङ्क नभएको र भएको थिंकट्याङ्कले भनेको कुरा सरकारले ग्रहण पनि नगर्ने भएकाले श्रीलङ्का अहिले संकटपूर्ण अवस्थामा पुगेको डा. वाग्लेले बताए ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले प्रतिष्ठानका गतिविधिहरूबारे जानकारी गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा यस वर्षको नीति सम्मान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)लाई प्रदान गरिएको थियो । गत वर्ष यो सम्मान काठमाडौँ विश्वविद्यालयले पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस