क्षेत्रअनुसार उम्मेदवारको खर्च सीमा बढाउने आयोगको तयारी  « प्रशासन
Logo १७ मंसिर २०७९, शनिबार
   

क्षेत्रअनुसार उम्मेदवारको खर्च सीमा बढाउने आयोगको तयारी 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमा बढाउने तयारी गरेको छ । खर्च सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन लागिएको आयोगले जनाएको छ ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध गरिएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई खर्च सीमाबारे छलफल गर्न मंगलबार (पर्सि) बोलाइएको आयोगको राजनीतिक शाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले अघि सारेको प्रस्तावअनुसार एउटै जिल्लाको निर्वाचन क्षेत्रपिच्छे खर्च सीमा फरक-फरक हुनसक्छ ।

आयोगको राजनीतिक शाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार खर्च सीमामा तीन विषयलाई आधार बनाइएको छ । “निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रास्फीतिको दरलाई आधार बनाइएको छ,” उनले बाह्रखरीसँग भने ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ ०७४ को भन्दा प्रतिउम्मेदवार सात लाख रुपैयाँसम्म खर्च बढाउने प्रस्ताव गरिएको छ । त्यो निर्वाचनमा प्रतिनिधिसभातर्फ २५ लाखको खर्च सीमा निर्धारण गरिएको थियो । यो पटक ३३ लाख पुर्‍याउने आयोगको तयारी छ ।

आयोगको प्रस्तावअनुसार १६५ मध्ये यो पटक पाँच निर्वाचन क्षेत्रमा २५ लाखसम्मको खर्च सीमा निर्धारण गरिनेछ ।

यस्तै, २३ निर्वाचन क्षेत्रमा २७ लाख, ६६ निर्वाचन क्षेत्रमा २९ लाख खर्च सीमा हुने प्रस्ताव छ । ४४ निर्वाचन क्षेत्रमा ३१ लाख र २७ निर्वाचन क्षेत्रमा ३३ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ ।

सोअनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारको प्रचारप्रसारमा ४९ करोड १५ लाख रुपैयाँ खर्च हुने आयोगको अनुमान छ ।

प्रदेशसभातर्फ पनि खर्च सीमा बढाउने तयारी । प्रदेशसभाका ३३० मध्ये ५५ निर्वाचन क्षेत्रमा १५ लाख, १५२ निर्वाचन क्षेत्रमा १७ लाख खर्च सीमा तोक्ने आयोगको प्रस्ताव छ ।

यस्तै, ६४ निर्वाचन क्षेत्रमा १९ लाख, ३१ निर्वाचन क्षेत्रमा २१ लाख खर्च सीमा तोक्ने आयोगको तयारी छ ।

प्रदेशसभाका २८ निर्वाचन क्षेत्रमा २३ लाख खर्च सीमा निर्धारण गर्ने आयोगको प्रस्ताव छ । यसो गर्दा प्रदेशसभाका उम्मेदवारहरूले गर्ने कुल खर्च ५९ करोड २० लाख रुपैयाँ हुन्छ । 

आयोगको प्रस्तावअनुसार प्रतिनिधिसभातर्फ ४९ करोड १५ लाख र प्रदेशसभातर्फ ५९ करोड २० लाख गरी उम्मेदवारको कुल एक अर्ब आठ करोड ३५ लाख रुपैयाँ प्रचारप्रसारमा खर्च हुने देखिन्छ । यसरी हेर्दा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभातर्फ १० करोड पाँच लाख रुपैयाँ बढी खर्च हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस