बाटोको नाममा घर भत्काउनु हुँदैन : पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाटोको नाममा घर भत्काउनु हुँदैन : पर्यटनमन्त्री श्रेष्ठ


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउन नहुने बताएका छन्।

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौँ उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए।

उनले पहिलाका भौतिक संरचनाको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्त्व रहने उल्लेख गर्दै काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए।

पर्यटनबाट नै देशमा रोजगारी र जीविकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए। उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको जानकारी दिए। पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए।

हनुमान ढोकादेखि स्वयम्भूसम्म २।२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ। पर्यटकहरूलाई शान्तिपूर्ण रूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस