काँग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : सिंह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले जिते संघीयतालाई कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने देखाउँछौँ : सिंह


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले आफूहरुले जिते संघीयता कार्यान्वयन गरेर देखाउने बताए ।

नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने धारणा राखे ।

उनले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । उनले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए ।

‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ,’ उनले भने, ‘केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्छौँ । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए ।

नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए । उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्कँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गरे । उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए ।

‘१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ । बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस