समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी


८ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ ।

समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् ।

नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताए । ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’ उनले प्रश्न गरे ।

पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए । ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो । हामी तपाईकै बाटोमा छौं’ उनले भने ‘कार्यकर्तालाई न्यायोचित अवसर चाहिन्छ । ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन। अब टुलु टुलु हेरेर हामी बस्दैनौं ।’

उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरे ।

नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए । ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ । १६ गतेसम्म नसच्याए हामी प्रतिवादमा उत्रन्छौं’ उनले भने, ‘समानुपातिक सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस