लौरो चिह्न स्वतन्त्रको भन्ने प्रचार रोक्न आयोगको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

लौरो चिह्न स्वतन्त्रको भन्ने प्रचार रोक्न आयोगको निर्देशन


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरूको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ ।

यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ ।

‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरू प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगले पत्रमा भनेको छ ।

साथै के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस