भुवन केसीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने सूची’मा, पल शाहको पेशी असोज २६ मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुवन केसीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने सूची’मा, पल शाहको पेशी असोज २६ मा


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । शुक्रबार यो मुद्दा न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति बेलुकासम्म आउने बताए । अबको पेशी दसैँपछि तोकिन सक्ने सम्भावना रहेको उनले बताए ।

नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरूले प्रश्न उठाएका छन् ।

अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि भुवनको मुद्दाको पेशी सर्दै आएको छ ।

भुवनलाई बोर्ड अध्यक्षको रूपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरूको जिकिर छ । अध्यक्ष बन्न स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग छ ।

यसैबिच, बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल ९पूर्णविक्रम शाह०को पेशी असोज २६ गतेलाई तोकिएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस