भोलि अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, अभियानमा ऐक्यबद्धता जनाइदिन सङ्घको आव्हान   « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस, अभियानमा ऐक्यबद्धता जनाइदिन सङ्घको आव्हान  


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । भोलि (असोज ७) गते अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइँदै छ । 

‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्दछन्’ भन्ने मूल नाराका साथ नेपाल लगायत विश्वभर २०० भन्दा बढी देशमा विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो ।  

यस वर्ष सुन्धारा, काठमाडौँ स्थित धरहरामा निलो बत्ती बालेर बहिरा समुदायको पहिचान, समानता, विकास तथा मान्यताको सन्देश प्रवाह गर्दै मनाउन लागेको राष्ट्रिय बहिरा महासङ्घ नेपालले जनाएको छ ।  

संयुक्त राष्ट्रसङ्घको २०१७ डिसेम्बरको २१ औँ महासभाले बहिरा नागरिकहरूको संचारको माध्यम साङ्केतिक भाषाको अधिकारलाइ पहिचान गरी हरेक वर्षको सेप्टेम्बर महिनाको २३ तारीखलाई अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका रूपमा विश्वभर भव्य रूपले मनाउने प्रस्ताव पारित गरेको थियो । 

१९५१ मा स्थापना भए पश्चात् विश्व बहिरा महासङ्घले निलो रिबन समाजमा समानता र उनीहरूको राष्ट्रिय साङ्केतिक भाषाहरूको मान्यताको लागि शताब्दीयौं देखि बहिरा समुदायहरूको कामको प्रतीकको रूपमा प्रयोग गर्ने गरेको छ । 

साथै सम्पूर्ण सरोकारवाला निकायलाई पनि कार्यक्रममा सहभागीताका लागी अनुरोध गरेको छ । 

‘विभिन्न अवरोह, समस्या र चुनौतीको बाबजुत नेपालमा बहिरा अपाङ्गताको क्षेत्रमा भएका कार्यहरूको लागि नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरू, नेपाल सरकारका केन्द्रीय देखि स्थानीय तह सम्मका निकायहरू, मानव अधिकार समुदाय, समाजसेवी, बुद्धिजीवी वर्गहरू, पत्रकार, व्यापारी, उद्योग व्यवसायी, अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरू लगायतका सरोकारवालाहरूलाई महासङ्घ यस दिवसको सन्दर्भमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ । नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, शिक्षा ऐन लगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारहरूको अक्षरशः कार्यान्वयन तथा बहिरा समावेशिता र अधिकार सुनिश्चित गर्ने प्रावधानहरू समावेश गरेर बहिरा नागरिकहरूको अधिकार प्राप्तिको अभियानमा ऐक्यबद्धता जनाइदिनुहुन सम्पूर्ण सरोकारवालाहरू समक्ष महासङ्घ परिवार हार्दिक आव्हान गर्दछ ।’  सङ्घद्वारा जारी सूचनामा भनिएको छ । 

अधिकार भएर पनि बहिरा सञ्जाल, साङ्केतिक भाषा, दोभासे सेवा विकास र बहिरा संस्कृतिको विकासतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।   

Tags :
प्रतिक्रिया दिनुहोस