बेलायतले दुई वर्ष अनुभव भएका नर्स मात्र लैजाने  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेलायतले दुई वर्ष अनुभव भएका नर्स मात्र लैजाने 


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । बेलायत सरकारले नेपाली दक्ष नर्सलाई रोजगारीको अवसर दिने बताएको छ।

नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौताअनुसार नै दुई वर्ष अनुभव भएका दक्ष नर्सलाई रोजगारी दिने बताइएको हो। 

बिहीबार काठमाडौँ आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरूलाई उचित सेवा सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिने बताइन्। 

राजदूत पोलिटले नेपाली नर्सहरूले बेलायतमा काम गर्दा बेलायतको स्वास्थ्य क्षेत्रलाई निकै लाभ पुग्ने पनि बताइन्। त्यस्तै  राजदूत पोलिटले बेलायत काम गरेर फर्केका नेपाली नर्सले स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा दक्षता प्रयोग गर्न सक्ने उल्लेख गरिन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप(सचिव डा.थानेश्वर भुसालले बेलायतको स्वास्थ्य क्षेत्रमा जान दुई वर्षको अनुभव हुनुपर्ने बताए। त्यहाँ जाने नेपाली नर्सहरूले कुनै प्रकारको शुल्क तिर्नु नपर्ने पनि उल्लेख गरे। तर पाँच वर्षपछि अनिवार्य फर्कनुपर्ने व्यवस्था दुई देशबीचको सम्झौता पत्रमा उल्लेख भएको पनि उनले जानकारी दिए। 

नेपाल र बेलायत सरकारबीच भएको सम्झौताअनुसार बेलायतमा जाने नेपाली नर्सले मासिक चार लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने उल्लेख छ। जसले गर्दा पनि बेलायत रोजगारीमा चासो बढेको छ। मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै बेलायतको कानुनअनुसार उक्त तलब सुविधा नेपाली नर्सले पाउनेछन्। 

बेलायत रोजगारीका लागि भर्ना प्रक्रियामा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू सहभागी हुन पाउँछन्। स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन सहभागी हुन पाउनेछन्। अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ। बेलायत जान आइएलटिएसमा सात स्कोर ल्याउनुपर्ने छ। त्यस्तै ओइटीमा ‘बी’ ल्याउनु पर्ने छ। 

Tags :
प्रतिक्रिया दिनुहोस