राजनीतिबाट सन्यास लिँदैछु : विमल श्रीवास्तव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजनीतिबाट सन्यास लिँदैछु : विमल श्रीवास्तव


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने बताएका छन् । लोसपा परित्याग गरेर उनी एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला राजनीतिबाट सन्यास लिन लागेको बताएका हुन् ।

केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए ।

५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, दुई पटक सांसद र एक पटक मन्त्री समेत भइसकेका छन् ।

७३ वर्षीय श्रीवास्तवले स्वतन्त्र विद्यार्थी मण्डल सङ्गठनबाट राजनीति सुरु गरेका थिए । पञ्चायतकालमा एक पटक वडाध्यक्ष र तीन पटक वीरगञ्जको मेयर बनेका उनी बहुदल आएपछि पनि राजनीतिमा चर्चामा रहे ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक पटक मेयर बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि राप्रपामा सक्रिय श्रीवास्तव गणतन्त्र आएपछि भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा गएका थिए ।

उनले तमलोपाबाटै संविधानसभा सदस्यमा चुनाव जितेका थिए । तमलोपा सहितको मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी बनेपछि उनी त्यसैमा सक्रिय थिए । तर २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा उठे । तर उनी पराजित भए ।

चुनावमा होमिनका लागि जुनसुकै तरिका अपनाउन सक्ने व्यक्तिको रूपमा परिचित उनी मेयरमा पराजित भएपनि रोकिएनन् । तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरेर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडे । मेयरमा पराजित भएका उनी प्रतिनिधि सभा सदस्यमा भने विजयी भए ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्व सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बने । स्थानीय निर्वाचनमा वीरगञ्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरेका श्रीवास्तव हाल लोसपामा नै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस