राष्ट्र बैङ्कले ४० अर्बको ट्रेजरी बिल किनेर तरलता पठाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैङ्कले ४० अर्बको ट्रेजरी बिल किनेर तरलता पठाउँदै


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । बैङ्कहरू तरलता सङ्कट गहिरिँदै गएपछि राष्ट्र बैङ्कले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ ।

राष्ट्र बैङ्कले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैङ्कले सोझै खरिद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेस गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैङ्कले जनाएको छ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउन्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ राष्ट्र बैंकले जनाएको छ ।

तर, समान वाषिर्क प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट हुनेछ ।

चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैङ्क आफैले धमाधम खरिद गरिरहेको छ । तर, यस पटक भने ट्रेजरी बिल सोझौ खरिद गरेर राष्ट्र बैङ्कले प्रणालीमा तरलता पठाउन लागेको हो ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैङ्कले यसपालि भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।

२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रीय बैङ्कले जनाएको छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस