भारतीय दूध आयात रोक्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय दूध आयात रोक्न माग


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ। सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

राज्यले विगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हित विपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे । आयातित दूधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनको भनाइ थियो । 

अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दूध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए ।  सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उनको भनाइ थियो ।

सरकारले विसं २०७५ बाट दूध आयातमा रोक लगाएको बताउँदै सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए । नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा बिना आधार आयात गर्न दिनु किसानको हित विपरीत भएको उनको भनाइ थियो ।

चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दूधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए ।

सङ्घका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरूले यो विषयमा सरकार र केन्द्रमा समेत जानकारी गराउँदा गराउँदै किसानको हित विपरीत निर्णय गरिएको बताए ।

चितवनमा दुधालु गाईभैँसी ६८ हजार छ सय ११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको उनले जानकारी दिए ।

यसमध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको सङ्घले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस