डा. केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा.केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको बताए ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा.केसीलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशङ्का गरिएको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौँ ल्याउन हेलिकप्टर मगाइएको प्रवक्ता जोशीले बताए । उनका अनुसार काठमाडौँबाट सेनाको हेलिकप्टर उडिसकेको छ ।

अनसन बसेको दोस्रो दिनदेखि नै डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस