रूपान्तरणकारी विश्वमा भविष्यको खोजी « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

रूपान्तरणकारी विश्वमा भविष्यको खोजी


४ आश्विन २०७९, मंगलबार


विषय प्रवेश
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सन् १९९० देखि मानव विकास प्रतिवेदन प्रकाशित गर्दै मानवीय सभ्यता र विकास सम्बन्धी विविध विषयलाई संवादमा ल्याएको छ विश्लेषण गरेको छ अनि नीतिगत खुराक प्रदान गर्दै आएको छ । हुन त नेपालको सन्दर्भमा पनि उक्त संस्थाले राष्ट्रिय योजना आयोगसँग मिलेर नेपाल मानव विकास प्रतिवेदनका केही शृङ्खला तयारीमा समेत सघाएको छ । कोभिड १९ को सन्त्रासपश्चता गत वर्ष र यस वर्षको संयुक्त प्रतिवेदन सेप्टेम्बर १२, २०२२ का दिन विश्वभर सार्वजनिक भएको छ । यस लेखमा यही प्रतिवेदनले उठान गरेका र प्रस्ताव गरेका मुख्य मुख्य विषयहरूलाई संक्षिप्तरुपमा समेटिएको छ ।

माथिको चित्रमा देखाइएको प्रतिवेदनको शीर्षक वा मूल वाक्यको नेपालीकरण गर्दा ‘अनिश्चित समय, अस्थिर जीवन: रूपान्तरित विश्वमा भविष्यको खोजी’ हुन आउँछ । यो वाक्य वा Theme आफैमा विहङ्गम र गहिरो छ । आशा भन्दा निराशाजनक देखिन्छ । तर अहिलेकोको वास्तविकता भनेको अनिश्चिततासँग पैठे जोरी खेल्दै मानवीय हितलाई अगाडि बढाउने नै हो । हरेक बादलमा चाँदीको घेरा भेटाउनुपर्दछ । कठिनाइसँग मुकाबिला गर्नेले नै हो विजय हाँसिल गर्ने र सुखद परिणाममा पुग्ने । प्रतिवेदनले समेटेका मुख्य विषयलाई यस प्रकार बुँदागत गर्न सकिन्छ :

१. पछिल्ला केही वर्षयता विश्वव्यापीकरण असर पर्ने गरी देखिएका समस्याहरूले अनिश्चिततालाई बढाएका छन् । आर्थिक सामाजिक अवस्थामा आएको चरम गडबडीका कारण मानव विकासको क्रमलाई उल्टो दिशातर्फ धकेलेको आभास भएको छ । महामारीसँगै असमानताको खाडल झन् चौडा भएको छ भने जलवायु सङ्कटका धक्काहरू, तीव्र रूपमा भएको प्राविधिक नवप्रवर्तन र सामाजिक अविश्वासहरू आपसमा गुजुल्टिएर मानवीय प्रगतिको गति नै धिमा भयो र केही विश्लेषणहरूले मानवीय विकासको सन् २०१६ कै अवस्थामा पुर्‍याएको समेत भनेका छन् । जबकि हामीहरू सन् २०३० मा हाँसिल हुनुपर्ने दिगो विकास लक्ष्यहरूका लागि तोकिएको समयको झण्डै मध्यावधिमा पुग्दै छौँ ।

२. सिङ्गो विश्व र मानव सभ्यतामा ठुला चुनौतीहरू देखिएका छन् । खास गरी जलवायु र जैविक विविधता सम्बन्धी सङ्कट, असमानता र राजनैतिक ध्रुवीकरणका साथै प्राविधिक उतारचढाव जस्ता समस्याहरू एकले अर्कोलाई पुष्टीकरण गरिरहेका छन् ।

३. मानिसहरू ज्यादा चिन्तित भएका छन् । खास गरी तनाव, चिन्ता, रिस र बेखुसी बढ्ने क्रममा छ । तनावमा बाँचेका व्यक्ति ३५ प्रतिशत जनसङ्ख्यामा पुगेको छ, यो प्रतिशतगत दशकको तुलनामा १० प्रतिशत बढी हो ।

४. मानसिक स्वास्थ्यमा आएको सङ्कटले मानवीय विकासलाई पुड्को र कमजोर बनाएको प्रतीत हुन्छ । साथै मानवीय स्वतन्त्रता र अवसरलाई समेत बढाउनुको सट्टा सीमित तुल्यायो । अध्ययनका अनुसार झण्डै आधा सङ्ख्याका बालबालिकाहरू संवेगात्मक, शारीरिक वा यौनिक हिंसामा परेको विवरणले देखाउँदछ ।

५. अनिश्चितता, असमानता र असुरक्षा सँगसँगै अगाडि जान्छन् एकले अर्कोलाई मलजल गर्दछन् र ध्रुवीकरण निम्त्याउँदछन् र विश्वासमा खाडल देखा पर्दछ । यस्तो खाडल राजनैतिकरुपमा मात्र हैन कि सामाजिक रूपमा समेत उत्तिकै छ । भनिएको छ कि अहिले विश्वका ३० प्रतिशत व्यक्तिले मात्र अरूलाई विश्वास गर्दछन् ।

६. वास्तवमा सङ्कटहरूको चाङ लागेको जस्तो समय क्रममा एकपछि अर्को सङ्कट आएका छन् र विश्वलाई नै चुनौती दिएका छन् । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट, केही दशकयता बढ्दै गएको विश्वव्यापी जलवायु सङ्कटका साथमा सन् २०१९ को अन्त्यबाट प्रारम्भ भएको विश्वव्यापी कोभिड १९ महामारीका साथसाथमा विश्वव्यापी खाद्य सङ्कटको समेत छनक देखिएको छ । कोभिड १९ अघि नै विश्वका ७ मध्ये ६ जनाले असुरक्षित महसुस गर्थे भने अहिले यो हालत के भएको होला आफै अनुमान गरौँ ।

समाधानको प्रस्तावका रूपमा प्रतिवेदनले सुझाएका उपायहरू
१. अनिश्चितता पनि नित्य हुँदैन । अनिश्चिततामा समेत अवसर लुकेको हुन्छ । अपेक्षा र वास्तविकता वीचको असामान्जस्यताले मानवीय क्षमता बढाउनुपर्ने तर्फ स्पष्टरुपमा इङ्गित गरेको छ ।

२. अहिले देखिएको मानवीय विकासको पक्षघात हटाउनुपर्ने र नयाँ यात्रा तय गर्नुपर्नेछ । त्यसैगरी ध्रुवीकरण हटाउने, आपसी विश्वास प्रवर्द्धन गर्ने र निर्णय निर्माणमा सबैलाई सहभागी हुन दिनुपर्नेछ ।

३. अनिश्चितता र अनिर्णयबाट मुक्त हुनका लागि मानवीय उपाय नै उत्तम उपाय हो । यसका लागि खुला र समावेशी संवाद आवश्यक पर्दछ । समुदायले आफ्नो भविष्य निर्माणका लागि के गर्न चाहन्छन् भन्ने पत्ता लगाउनुपर्दछ ।

४. व्यक्तिको सोच परिवर्तन गर्नका लागि तथ्याङ्क र प्रमाणपत्र काफी हुँदैन । यसका लागि त मानवीय व्यवहारको बोध, संवेगहरूको पहिचान पनि उत्तिकै आवश्यक छ ।

५. सार्वजनिक नीतिको निर्माण र कार्यान्वयनमा रहेको परम्परागत धारलाई पुनरावलोकन गरी विश्व समाजले अहिले खोजेको संस्था र कार्यशैली अवलम्बन गर्न तयार हुनुपर्दछ ।

६. बढ्दो मानवीय तनाव,  सङ्कट न्यूनीकरण र मनोवैज्ञानिक समुत्थानशीलतामार्फत अनिश्चित संसारलाई बदल्नुपर्दछ र निश्चित तथा अनुमानयोग्य जीवन जिउने वातावरण बनाउनुपर्दछ ।

समाधान के त ?
सिङ्गो विश्व नै अनिश्चितताको भुमरीमा परिरहेको र चिन्ताबाट आशामा लैजानका लागि नीतिगत तवरबाटै लगानी, बीमा र नवप्रवर्तनमा जोड दिनुपर्ने सिफारिस प्रतिवेदन गरेको हामी पाउँछौ ।  निश्चितरुपमा यी तीन विषयका नीति र संस्थाहरूको सक्रियताबाट मात्र अनिश्चित विश्वमा टिक्न सकिन्छ अन्यथा अनिश्चितता थप बढ्न सक्छ मानवीय समस्याहरू समाधान हुनेभन्दा पनि जटिलतातर्फ मोडिने जोखिम छ ।

प्रतिवेदनको समाप्तितिर फेला परेका केही मर्मस्पर्शी भनाइहरू :
‘राम्रो नेतृत्व, सामाजिक संवाद र विश्वासको कुनै अर्को विकल्प हुँदैन र छैन पनि ।’

‘यदि हामीहरू आपसमा मिलेर काम गर्‍यौँ भने साझा लक्ष्य प्राप्तिको दिशामा धेरै कम लागतमा धेरै उपलब्धि हाँसिल गर्न सक्दछौँ । मानवीय स्रोतमा यदि कुनै जादु छ भने यही नै हो । हामी अहिलेको मानवीय अवस्थाबाट कहाँ जान्छौ वा पुग्छौ भन्ने विषय हामीमा भर पर्दछ’

विश्व राजनीतिमा शक्ति संरचनामा बदलाव आएको छ । बहुराष्ट्रिय प्रणाली कमजोर भएको छ । कमजोर मुलुक वा समुदायलाई सहयोग गर्ने विषयहरू अहिले देशभित्रकै समस्या समाधानमै सीमित भएका छन् । यसअघि प्राप्त हुँदै आएका महत्त्वपूर्ण सहयोगहरू समेत कटौतीमा परेका छन् । सहुलियत दरका ऋणहरू पनि रोकिएका छन् । कोभिड १९ का भेरियन्टहरु अनुमान नै गर्न नसक्ने गरी देखा परेका छन् । अहिले पनि यसको संक्रमण रोकिएको छैन । साबिकमा रहने गरेका विपदहरु जस्तै तापक्रममा वृद्धि, आगलागी, आँधी, भूकम्प जस्ता सङ्कटमा अनिश्चितताका तहहरू थपिएर जटिल एवम् नयाँ खालका अनिश्चिततालाई जन्म दिएका छन् । यस बिचमा हामी नेपालीहरू पनि आआफ्नो जन्मस्थान तथा कर्म स्थानमा जहाँ जे सम्भावना छ सो को पहिचान गरी स्थानीय आर्थिक विकासका गतिविधिमा सरिक हुनुको विकल्प छैन । अपेक्षा बढ्दै जाने तर उत्पादनका क्रियाकलापहरू घट्ने भयो भने चर्को मूल्य वृद्धि, भोकमरी र बेरोजगारीका समस्याहरू एक आपसमा खप्टिएर जानेछन् । यसको समाधान अरू केही नभएर स्थानीय आर्थिक विकास मात्र हुने यो लेखकको ठम्याई रहेको छ ।

असमानता अहिले पनि छ
सबै पक्ष राम्रो पनि छैन र सबै पक्ष नराम्रो पनि हैन को अवस्थामा हामी छौँ । तत्काल देखिएका अनिश्चितता, सङ्कट एवम् महामारीले पक्कै निराश बनाएको छ । तथापि १ वर्ष नपुग्दै डरलाग्दो महामारी रोक्न सक्ने गरी खोप उत्पादन भई कम लागतमै उपयोगमा आउनुलाई उपलब्धि मान्नुपर्दछ । सन् २०२२ को जुन १ सम्मको तथ्याङ्कलाई केलाउँदै प्रतिवेदनले भनेको छ कि विकसित देशमा ७२ प्रतिशतले खोप लगाउँदा अविकसित देशमा सो प्रतिशत १८ मात्र पुगेको छ । महामारीकावीच इन्टरनेट तथा कम्प्युटर सुविधा प्राप्त गर्ने र नगर्ने वीचको शिक्षामा पहुँचमा ठुलो खाडल देखियो जसलाई बन्दाबन्दीको अवधिमा गुणस्तरीय शिक्षामा पहुँचबाट वञ्चितहरूलाई अहिले छुटेको पुस्ता भन्न थालिएको छ ।

अन्त्यमा, मानव विकास प्रतिवेदनले उठाउने हरेक विषयले मानव र मानवीय हितलाई केन्द्रमा राख्दछ नै । मानवीय क्षमता विकास गर्दै मानवीय जीवनलाई अर्थपूर्णरुपमा अघि बढाउनमा मानवीय विकास प्रतिवेदनले नीतिगत र कार्यगत दिशानिर्देश गर्दै आएकोमा यस प्रतिवेदनले समेत सार्थक संवाद र कार्यको माग गरेको हामी पाउँदछौँ । हरेक अनिश्चिततासँगै केही नयाँ निकासको प्रतिज्ञा  र केही राम्रो कार्य गर्ने अवसर रहने विश्वास गरिन्छ । मुलुकभित्रै र आआफ्नो कार्यक्षेत्रभित्र लगानी गर्ने उत्पादन गर्ने वातावरण बनाउन सकियो भने र शिक्षा, स्वास्थ्य र रोजगारीका साथमा मानवीय जीवनको गुणात्मकता वृद्धि गर्न सकियो भने मात्र मानव विकासले सार्थकता पाउने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस