लोक सेवा आयोगको परीक्षामा बेथिति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगको परीक्षामा बेथिति


३ आश्विन २०७९, सोमबार


काठमाडौँ। मधेस प्रदेशको लोक सेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए ।

लोक सेवा आयोगबाट प्रश्नपत्र सिलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील फुटेको अवस्थामा पुगेको परीक्षा केन्द्रमा खटिएका कर्मचारीहरूले बताएका छन् ।

गत शनिबार लिएको सहायक पाँचौँ तहको परीक्षामा समेत यस्तै बेथिति देखिएको राराब क्याम्पस परीक्षा केन्द्रमा खटिएका अर्का कर्मचारीले बताए । 

परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तरपुस्तिका सुरक्षित रूपले लोकसेवा आयोगसम्म पुर्‍याउनुपर्नेमा त्यसो नगरी  कर्मचारी आफैँले लिएर गएको पनि बताए ।

आयोगका सदस्य महारुद्र झाले शीलबन्दीमा प्रयोग हुने शील (लाहा) गुणस्तरहीन भएकोले यस्तो समस्या आएको बताए । 

शील कमजोर भएको विषयमा छलफल भएको पनि उनले बताए । परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रूपमा खटाएको उनको भनाइ छ ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रूपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल न‌ै मान्नुपर्ने उनको भनाइ छ । परीक्षामा हुने कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने आयोगका सदस्य झाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस