बङ्गलादेश छैटौँ महिला साफ च्याम्पियन, नेपाल ३-१ ले पराजित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बङ्गलादेश छैटौँ महिला साफ च्याम्पियन, नेपाल ३-१ ले पराजित


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बङ्गलादेशले उपाधि उचालेको हो ।

बङ्गलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो । 

गृहमैदानमा करिब १६ हजारभन्दा बढी दर्शकको साथ पाएको नेपालले पहिलो पटक विजेता बन्ने अवसर गुमायो । नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल खान पुग्यो । 

२-० ले अग्रता लिइरहेको बङ्गलादेशको पोस्टमा नेपालले ७१औँ मिनेटमा गोल फर्काएको थियो । सावित्राको पासमा ७१ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, उनको प्रयास पर्याप्त भएन । 

केही बेरपछि नै डिफेन्डरहरू अगाडि बढेको मौकामा बङ्गलादेशले अर्को गोल थप्दै खेललाई ३-१ को अवस्थामा पुर्‍यायो । यसपछि नेपाल खेलमा फर्कन सकेन । 

बङ्गलादेशको पहिलो गोल निकै आकर्षक थियो । साम सुन्नाकारले खेलको १४औँ मिनेटमा आकर्षक गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी थिइन् । इन्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको केही मिनेटभित्रै उनले आफ्नो उपस्थिति प्रमाणित गरिन् । 

यसपछि नेपालले खेलमा बराबरी गर्ने निरन्तर प्रयास गरिरह्यो । तर, ४२औँ मिनेटमा श्रीमोती कृष्ण सङ्करले दोस्रो गोल गरिन् । नेपाली डिफेन्डरहरूको कमजोरीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाइन् ।

दोस्रो हाफमा नेपालले थप आक्रामक फुटबल खेल्ने प्रयास गरे पनि गोल फर्काउन सकेन । दोस्रो हाफमा नेपालले सर्वाधिक सफल सावित्रा भण्डारी साम्बालाई मैदानमा उतारेको थियो । 

डेंगुको कारण अघिल्ला दुई खेल गुमाएकी सावित्राले पनि नेपाललाई उद्धार गर्न सकिनन् । अन्ततः नेपाल इतिहास रच्नबाट वञ्चित रह्यो । 

Tags :
प्रतिक्रिया दिनुहोस