संविधान जारीपछि पनि जनताले सामाजिक न्याय र सुशासनको अनुभूति गर्न पाएनन् : तिमिल्सिना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधान जारीपछि पनि जनताले सामाजिक न्याय र सुशासनको अनुभूति गर्न पाएनन् : तिमिल्सिना


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान जारी भएको सात वर्षसम्म पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न नपाएको बताएका छन् ।

संविधान दिवस-२०७९ को अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान जारीपछि राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रूत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न नपाएको बताएका हुन् ।

‘संविधान जारी भएको सात वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भएपनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न पाएका छैनन्‚’ उनले भनेका छन्‚ ‘संविधानले परिकल्पना गरेका विषयहरूलाई कार्यान्वयन गर्न सकेमा मात्र संघीयता र गणतन्त्र बलियो हुने भएकोले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराउन चाहान्छु ।’

संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ सबैको ध्यान जानु जरुरी भएको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले लोकतन्त्रको सुन्दर पक्ष मानिने आवधिक निर्वाचनले सुशासन, सम्बृद्धि र दिगो विकासका लागि मार्ग प्रशस्त गर्ने भएकाले जनभावना बुझ्ने उम्मेदवार सिफारिस गर्न सम्बद्ध दलहरूलाई अपिलसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस