चोलेन्द्रले सफाइ पाइसके, प्रहरीले घर घेर्नु गैर जिम्मेवार : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोलेन्द्रले सफाइ पाइसके, प्रहरीले घर घेर्नु गैर जिम्मेवार : ओली


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् ।

संसद्को कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैर जिम्मेवार क्रियाकलाप भएको बताए ।

महाअभियोग प्रस्ताव टुङ्गो नलगाई प्रतिनिधिसभा सदस्यहरूको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए । प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन् ।

एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए । तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै उनले भने, ‘हिजो संसद्को अधिवेशन मात्र सकिएन, संसद्को कार्यकाल नै सकियो । त्यो महाभियोग प्रस्ताव पारित भएन ।’

ओलीले अगाडि भने, ‘दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो । यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । विलम्ब गरेर सफाइ दियो ।’

अब संसद सचिवालयले संसदले पास गर्न नसकेको भनेर पत्र दिनुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ । तर सरकारले प्रधानन्यायाधीशको निवास घेर्नु गैरजिम्मेवारपूर्ण काम भएको उनले बताए ।

‘बोरिस एल्सिनले संसदमाथि गोलाबारी गरेको थियो । गोलाबारी गरेको थियो ड्याङ कि ड्याङ । अब यस्ता बोरिस एल्सिनहरुसँग संसद्का कुरा के गर्ने ? अदालतका कुरा के गर्ने ? कानुनी राजको कुरा के गर्ने ?’ एमाले अध्यक्ष ओलीले भने, ‘यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी हो । यस्तो गैर जिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्ने ओलीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस