साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।

अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका-१ मनकामना मार्गको होटेल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।

अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ ।

प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिएवापत बीबी एयरवेजका सीईओबाट सापटी लिनु भ्रष्ट्राचारजन्य काम नै भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै अख्तियारले बीबी एयरवेजका सिइओ श्रेष्ठविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काम गरिदिएवापत रकम सापटी दिनु भ्रष्ट्राचार मानिने अख्तियारको दाबी छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सिइओ श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस