विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न शिक्षामन्त्रीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वविद्यालयमा सधैँका लागि तालाबन्दी बन्द गर्न शिक्षामन्त्रीको आग्रह


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् ।

पद्मकन्या क्याम्पसको ७२औँ वार्षिकोत्सव समारोहको अवसरमा शनिबार (हिजो) उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

दिनहुँ जसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै माओवादीका सचिवसमेत रहेका पौडेलले भने, ‘नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् । कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँ । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।’

सहमतिबाटै देशका ठुला–ठुला काम भएका बताउँदै मन्त्री पौडेलले सधैँका लागि तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई आग्रह गरे । पवित्र स्थानलाई तालाबन्दी गरेमा राम्रो नहुनेसमेत उनले बताए । विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरूको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले महिलाहरूको मूलतः अध्ययन–अध्यापन गराउने छुट्टै विश्वविद्यालयका रूपमा अघि बढाउन राखेको पद्मकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास व्यक्त गरे । ‘चीनमा पाँच लाख जनता बराबर एउटा विश्वविद्यालय छ, भारतमा १४ लाख जनता बराबर एउटा विश्वविद्यालय छ,’ उनले भने, ‘नेपालमा झन्डै २० लाख बराबर एउटा विश्वविद्यालय छ र पनि कतिपयले नेपालमा विश्वविद्यालय धेरै भए कि भनेर आलोचना पनि गर्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस