भारतमा बेचबिखनको जोखिममा रहेका १० बालकको उद्धार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भारतमा बेचबिखनको जोखिममा रहेका १० बालकको उद्धार


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।

भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बइको समन्वयमा बालकहरूको उद्वार गरिएको हो।

विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘बालबालिका सँगसँगै’ संस्थाले बालकहरूको उद्धार गर्न पहल गरेको थियो।

उद्धार गरिएका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा लगायत सरोकारवाला निकायहरूको समन्वयनमा परिवारसँग पुर्नमिलन गराइएको छ।

उद्धार भएका ११ देखि १७ वर्ष उमेर समुहका बालकहरू रौतहट, सुनसरी र मोरङ जिल्लाका छन्।

पछिल्लो समय नेपालबाट विभिन्न बाहानामा बालबालिकाहरु ओसारपसार गरी भारत लगायत अन्य मुलुकहरूमा लैजाने क्रम बढेको राष्ट्रिय बालअधिकार परिषदका देवीप्रसाद डोटेलले बताए।

‘बेचबिखनमा बालिका तथा महिला मात्र नभई बालकहरू पनि उच्च जोखिममा रहेको यो घटनाले पुष्टि गर्छ, त्यसैले बालकप्रति संवेदनशील हुनुपर्ने अवस्था रहेको छ,’ डोटेलले‍ भने।

मधेस प्रदेश राष्ट्रिय बालअधिकार परिषदका संयोजक संजिब महतोले बालबालिकाप्रति अभिभावकहरू नै चनाखो हुनुपर्नेमा जोड दिएका छन्। उनले बालकको अवस्थाबारे थप फलोअप गर्ने समेत बताए।

कार्यक्रममा विरगञ्ज महानगरपालिका बाल कल्याण अधिकारी सावित्रि भण्डारी, महिला बालबालिका सेवा केन्द्र पर्साकी प्रहरी सहायक निरीक्षक नयनकला टमाटा, अधिवक्ता तथा अभियान्ता दिलिप कोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिति रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस