२ पटक संसद् विघटन गरेका ओलीले भने-संसद् सफल भएको छ ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ पटक संसद् विघटन गरेका ओलीले भने-संसद् सफल भएको छ !


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् ।

वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए ।

वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार ओलीले यो संसद् सफल रहेको बताए । ‘राष्ट्रियताको रक्षा, महत्त्वपूर्ण कानुनहरू निर्माणसहितका हिसाबले यो संसद् सफल भएको छ,’ उनले भने, ‘जनादेश खल्बल्याउने काम गरेकाले ताजा जनादेशका लागि जानुपर्छ भनेर मैले विघटन गरेर चुनाव घोषणा गरेको थिएँ ।’

उनले सत्ता गठबन्धन अहिले बाध्यताले मात्र निर्वाचनमा सहभागी हुन लागेको बताए । गएको स्थानीय तह निर्वाचनमा सत्ताको दुरुपयोग गरिएको भन्दै उनले अब त्यस्तो हुन नहुने पनि बताए ।

‘म सरकारलाई भन्न चाहन्छु, लोकतन्त्रभित्र त्यस्ता कुरा पर्दैनन् । त्यस्तो नगर्न म आग्रह गर्छु,’ ओलीले भने, ‘लोकतन्त्र भनेको फरक मत सुन्ने र प्रतिस्पर्धा गर्ने व्यवस्था हो । यो प्रजातान्त्रिक प्रक्रिया निर्वाचनमा कायम हुन सक्नुपर्छ ।’

उनले निर्वाचन आयोगले स्वतन्त्र रूपमा भूमिका निर्वाह गर्नुपर्ने भन्दै सरकारको निकायका रूपमा काम नगर्न आग्रह गरे ।

आफ्नो सरकारका काम–कारबाही प्रस्तुत
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले वर्तमान सरकारले काम नगरेको भन्दै त्यसको मूल्याङ्कन आउँदो मंसिरमा गरिने बताए । उनले विकासको गति अघि बढिरहेका बेला वर्तमान सरकारले रोकेको आरोप पनि लगाए । उनले यस्तो आरोप लगाउँदै आफ्नो सरकारका काम प्रस्तुत गरे ।

अध्यक्ष ओलीले सुनकोसी–मरिन डाइभर्सन, हुलाकी राजमार्गसहितका काम हुँदै गर्दा षड्यन्त्र सुरु भएको आरोप लगाए । उनले नागरिकता अध्यादेश आफूले जारी गरे पनि मुद्दा हालेर रोकेको भन्दै अहिले नागरिकता विधेयकमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव नल्याएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस