सरोकारवालासँग अन्तरक्रिया गरी घोषणापत्रका लागि सुझाव समेट्दै माओवादी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरोकारवालासँग अन्तरक्रिया गरी घोषणापत्रका लागि सुझाव समेट्दै माओवादी


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो । 

माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैङ्क तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा,  र परराष्ट्र मामिला, ऊर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्षा तथा सामाजिक न्याय, पूर्वाधार विकासलगायतका विषयहरू छनोट गरी सो क्षेत्रका विज्ञहरूसँग औपचारिक अन्तरक्रिया गर्न लागेको हो । ती सबै निकायबाट आएको महत्त्वपूर्ण सुझावलाई घोषणा पत्रमा समेटिने केन्द्रीय सदस्य डिपि ढकालले बताए ।

यस्तै माओवादी पार्टी जनवर्गीय सङ्गठन र विभागलाई समेत घोषणा पत्रमा समेट्ने सुझाव दिएको छ । पार्टी विभाग, जनवर्गीय सङ्गठन र सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर सुझाव सङ्कलनपछि असोज दोस्रो साताभित्र घोषणापत्र तयार गरिने बताइएको छ । 

घोषणापत्र लेखन समिति संयोजक तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा  महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लीलामणि पोखरेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, ड. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जिकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा। पूर्ण लोक्सम, नहेन्द्र खड्कालगायतका नेताहरू सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस