विशेष अदालतले भ्रष्टाचार मुद्दामा इन्जिनियर बस्नेतलाई दियो सफाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विशेष अदालतले भ्रष्टाचार मुद्दामा इन्जिनियर बस्नेतलाई दियो सफाइ


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । इन्जिनियर सुवास बस्नेतले सडक निर्माणका कार्यमा भ्रष्टाचार गरेको आरोपबाट सफाइ पाएका छन् । शुक्रबारको अन्तिम बहसपछि विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई सफाइ दिएको हो । 

तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतले झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने समयमा घुसररिसवत माग गरेको आरोप लागेको थियो ।

बस्नेतले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाममा कार्यरत रहँदा झापा जिल्लामा सडक ग्राभेलको काम गर्ने क्रममा बिल बनाई भुक्तानी गर्दा घुसररिसवत माग गरी प्राप्त गरेको रकम अन्य बैङ्क खातामा जम्मा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ लाख पचास हजार रुपैयाँको बिगो दाबीसहित आरोपत्र ७६ साल फागुन १८ गते विशेष अदालतमा दर्ता गरेको थियो ।

साथै, उनले आफ्ना आफन्त धनेन्द्र कार्की अध्यक्ष रहेको डिस्टिलरी प्रालिको खातामा घुसबापत लिएको रकम राखेको आरोप रहेको थियो । कार्कीलाई पनि सेवाग्राहीसँग लिएको घुसररिसवत रकम लुकाइछिपाइ आफ्नै हस्ताक्षरबाट चल्ने बैङ्क खातामा सुरक्षित राखी प्रत्यक्ष रूपमा सहयोग गरेको आरोपमा ३७ लाख ५० हजारको बिगो माग दाबी राखिएको थियो । 

बस्नेतलाई घुस लिई भ्रष्टाचार गरेको र कार्कीलाई भ्रष्टाचार गर्नेलाई सघाउ गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय माग गरिएको थियो । 

बस्नेतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका उमेश भन्ने उमानाथ खतिवडाले वकपत्र गर्दा अनुसन्धानको क्रममा झुट बयान दिएको आरोपमा मुछिएका सरकारी कर्मचारी उमानाथ खतिवडाले पनि सफाइ पाएका छन् ।

विशेष अदालतका पूर्ण इजलासले घुसररिसवत लिएको आरोपबाट बस्नेतलाई रिसवतबाट प्राप्त रकम लुकाउन मद्दत गरेको आरोपमा कार्कीलाई र यसै मुद्दाको सिलसिलामा झुटो बकपत्र गरेको आरोपमा खतिवडालाई सफाइ दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस