महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ ।

विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो ।

उनको मागपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए ।

समिति सचिवालयले शुक्रबार बिहानै न्याय परिषद् र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट फाइलहरू मगाउन चिठी लेख्नेछ भने केही कागजातहरू बिहान ९ बजेभित्र नै सचिवालयमा आइपुग्नेगरी मगाउने निर्णय भएको एक सदस्यले बताए । समितिले वीरगञ्जको छपकैया पोखरीको विवादमा भएको आदेश र फैसला समेत मगाउने निर्णय गरेको छ ।

समिति सदस्य तथा एमाले सांसद पोखरेलले बैठकमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्काको सबै फाइल मगाएर अध्ययन गर्नुपर्ने पनि बताए । त्यसैगरी इच्छाराज तामाङको मुद्धामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको संवादको अडियो र त्यससम्बन्धी न्यायपरिषदको फाइल समेत मगाउने निर्णय गरेको छ ।

कृष्णमान र हंसमान जोडिएका मुद्धामा जबरामाथि ४ करोड रुपैयाँ खाएको आरोप लागेकाले त्यससम्बन्धी फाइल समेत मगाउनुपर्ने पोखरेलले बताए । 

समितिले बानेश्वरको आइपेक्स कम्प्लेक्सको फाइल अनि त्यहाँको सीसीटीभी फुटेज पनि मगाउने निर्णय गरेको छ । त्यहाँबाट एउटा नम्बरबाट नियमित फोन जाने गरेको भन्दै समितिले त्यो फोनको कल डिटेल समेत मगाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस