देशलाई दुर्घटनाबाट जोगाएकै गठबन्धनले हो : प्रकाशमान सिंह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशलाई दुर्घटनाबाट जोगाएकै गठबन्धनले हो : प्रकाशमान सिंह


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए।

उनले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए।

उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र सांसदलाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी गरे। उनले गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताए।

‘‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्, यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानुन समयमा नबनाइदिएको कारण आएको हो। अहिले त तपाईँहरूकै सरकार छ भन्नुहोला। झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र सांसदलाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार’, उनले भने, ‘देश ठुलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ। दुई तिहाइको सरकारले गर्न नसकेका कामहरू, आवश्यक संघीय कानुनहरू समयमा बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र भनेको के रहेछ भन्ने कुरा हरेक नेपालीले आफ्नो घर घरमा सेवाको सर्वसुलभता कारणले गर्दा सङ्घीयता राम्रो रहेछ भन्ने कुरालाई प्रमाणित कामले गर्छ।’

कार्यक्रममा सरोकारवाला निकायहरू र आम सर्वसाधारणहरूले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे। उनीहरूले वर्षमा एक पटक मात्रै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे। उनीहरूले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस