दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै फुटपाथ व्यवसायीले गुहारे महानगरलाई    « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै फुटपाथ व्यवसायीले गुहारे महानगरलाई   


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दसैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । महानगरपालिकाको प्रमुखका रूपमा बालेन्द्र शाह निर्वाचित भएपछि अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।

काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गरे । 

धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आएकी छन् । भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरूसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरूले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताए । 

उनले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ । काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौं भित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस