रवीन्द्र मिश्रले राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रवीन्द्र मिश्रले राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने 


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् ।

विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरूले मिश्रलाई लिङ्देनपछिको वरीयता दिँदै एकता टुङ्ग्याउने सहमति नजिक पुगेका हुन् ।

मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दाबीबाट पछि हट्ने सङ्केत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरीयतामा देखिनेछन् ।

स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को-को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले मिश्र राप्रपामा प्रवेश गर्न लागेको भनी चर्चा गरे पनि उनी निकटस्थले यो दुई पक्षबीचको एकता प्रयास नै भएको दाबी गरेका छन् ।

मिश्रले अहिले यसबारेमा खुलेर टिप्पणी गर्न अस्वीकार गरे । आफू प्रतिनिधिसभा चुनावमा काठमाडौँबाट उठ्ने टुङ्गो भएको, बाँकी सबै विषय छलफलमा रहेको उनले बताए । 

मिश्र पक्षका नेताहरुले राप्रपासँगको बैठक सकारात्मक मोडतर्फ अघि बढे पनि केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय समिति सबैको टुङ्गो नलागुन्जेल यो प्रक्रिया पूरा नहुने भन्दै अडान लिएका छन् ।

राप्रपाका नेताहरू मिश्रसँग सहकार्य गर्न इच्छुक हुँदै गर्दा बुद्धिमान तामाङ लगायत नेताहरुले वरीयताको विषयमा प्रश्न उठाइरहेका छन् ।

वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका मिश्र पछिल्ला दिनहरूमा मार्ग परिवर्तन भन्दै संवैधानिक राजसंस्था, हिन्दुबौद्ध राष्ट्र, सङ्घीयता खारेजीलगायत मुद्दा उठाउन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस