काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो ।
‘अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग ५,०००। घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकोले निज गणेश बहादुर खुलाललाई बिगो रु ५,०००। (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।’ आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले २०७९ साउन ३१ गते खुलाललाई नियन्त्रणमा लिएको थियो ।