मिनी ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ गम्भीर घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मिनी ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ गम्भीर घाइते


२९ भाद्र २०७९, बुधबार


त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेव फाँटमा गए राति मिनी ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ ।

गए राति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनी ट्रकले ठक्कर दिएको जनाइएको छ ।

ठक्करबाट बेलकोटगढी-७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

मिनी ट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।

ठक्कर दिने बा३ख १६४ नंको मिनी ट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।

दुर्घटनापछि फरार भएको मिनी ट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडक खण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस