सरकारले खुलायो केराउ, सुपारी र मरिचको आयात « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सरकारले खुलायो केराउ, सुपारी र मरिचको आयात


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको हो ।

यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जानकारी दिएको छ ।

प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’

यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । खासगरी, तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी भएको भन्दै त्यसलाई रोक्ने लक्ष्यसहित सरकारले केराउ, सुपारी र कालो मरिचको आयात रोकेको थियो ।

यद्यपि, सोही समयमा सरकारले व्यवसायीसँगको छलफलपछि गत चैतदेखि असार मसान्तसम्मका लागि आयात खुला गरेको थियो । त्यस लगत्तै पुनः यसको आयात रोकिएको थियो । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउने र भारततर्फ हुने तस्करीलाई समेत नियन्त्रण गर्ने लक्ष्यसहित दोस्रो पटक यी वस्तुको आयात बन्देज गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस