देशभर फैलियो डेंगु, सात जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

देशभर फैलियो डेंगु, सात जनाको मृत्यु


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरू रहेका छन् ।

मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्सिया महिला, कान्ति बाल अस्पतालमा तीन बर्सिया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्सिया महिला, भेरी अस्पतालमा १२ बर्सिया बालिका रहेका छन् । त्यसैगरी, चितवन मेडिकल कलेजमा २५ बर्सिया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ८ हजार ३२७ जना डेंगुको चपेटामा परेका छन् ।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौँ उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

महाशाखाकाको तथ्याङ्क अनुसार साउनयता सबैभन्दा बढी बागमती प्रदेशमा ६,२०५, लुम्बिनीमा प्रदेशमा १,२८४, प्रदेश १ मा २८२, सुदूरपश्चिम प्रदेशमा २०६ जनामा डेंगु पुष्टि भएको छ ।त्यसैगरी, गण्डकीमा १५०, मधेसमा १४४ र कर्णाली प्रदेशमा ५६ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । महाशाखाको तथ्याङ्क अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६७ जनामा डेंगु पुष्टि भइसकेको छ ।

काठमाडौं उपत्यका सहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ । यस्तै, डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरूमा डेंगुको अनुसन्धान र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस