धनगढीमा डा. केसीको सत्याग्रह सुरु, यी हुन् केसीका ६ बुँदे माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा डा. केसीको सत्याग्रह सुरु, यी हुन् केसीका ६ बुँदे माग


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दीरमा सत्याग्रह सुरु गरेका छन् ।

केसीका सहयोगी अमृत जैसीका अनुसार डा.केसीले कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन् । प्रहरीले बस्न नदिनेभन्दै यसअघि केसीले सत्याग्रहको स्थान सार्वजनिक गरेका थिएनन् ।

आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए ।

केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।

यी हुन् डा. केसीका ६ बुँदे माग

१) स्वास्थ्य सेवामा सुधारका लागि :
तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।

जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।

सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् ।

स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरूको नियुक्ति गरियोस् ।

२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस् । विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । यस अगाडि हामीसित सम्झौता भएबमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस् ।

३. सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस् । भागवण्डाका आधारमा अनियमिततापूर्वक हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरू तत्काल सच्याइयोस् । प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गरियोस् ।

५. चिकित्सा शिक्षा ऐन बमोजिम विसं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस् । मापदण्ड नपुगेका नर्सिङ कलेजमा भर्ना खुलाउनका लागि चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको नाजायज संशोधन प्रयास तत्काल बन्द गरियोस् ।

६. जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल पनि पर्दछ । डिजेल तथा पेट्रोल गाडीका कारण तेल आयातमा देशको खर्बौँ रुपैयाँ बाहिरी रहेको अवस्था छ । तसर्थ विद्युतीय गाडीहरू को विस्तृत प्रयोग र विस्तार का लागी प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरियोस् ।

सम्बन्धित समाचार : डा.गोविन्द केसी धनगढीमा अनसन बस्ने

Tags :
प्रतिक्रिया दिनुहोस